काठमाडौं - स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले देशैभर मतदान सुरु भएको जनाएको हो ।

३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित गर्नका लागि कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्नेछन् । निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् । जसमध्ये विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुन लागेकाे हाे ।५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । जसमा दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ ।