काडमाडौं - कोरोना भाइरसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरको खरिपाटी क्षेत्रमा घरदैलो अभियान शुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगलबार बिहानैदेखि सुरक्षाकर्मीसहितको टोलीले कोरोना भाइरसको त्रास हटाउने उद्देश्यले खरिपाटी क्षेत्रमा घरदैलो अभियान सुरु गरिएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा अभियान सुरु भएको हो। अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत सहभागी छन्।

टोलीले खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थामा रहेको बारेमा जानकारी गराइरहेको छ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेको बताए। ‘स्वास्थ्यमा कुनै पनि समस्या देखिए हेल्थ डेक्समा गएर जाँच गराउन सकिन्छ,’ पाण्डेले भने।

चीनको उहानबाट फर्काइएर विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रास बढेको भन्दै स्थानीयवासीले घर छाड्न थालेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए।

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको रउनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको भन्दै स्थानीयलाई आश्वस्थ पार्ने प्रयास गरेको छ।

मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए। रुघाखोकी नसरोस् भनेर नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउन सिकाइएको छ।