परासी - पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिए । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उनले बताए ।

“कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भने ।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताए । “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उनले भने ।

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताए । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उनले पनि औषधि पसल सञ्चालन गरेको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भएरनभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताए ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।