काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने । पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले बताए ।

श्रेष्ठले १६औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए । १५औं योजनाभन्दा आकारमा आधा सानो १६औं योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए ।

‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो । अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ । सोही अनुसार १६औं योजना बनेको छ,’ आवधिक योजनाबारे उनले भने ।

अहिलेसम्म महत्त्वकांक्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको बताए । ‘हाम्रो जोड हरेक योजना र कार्यान्वयनको कार्यान्वयन हो,’ उनले भने ।