मुस्ताङ - नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेका छन्। 

उत्तरी सीमा नाका बाढी तथा पहिरोका कारण अवरुद्ध भइरहेका बेला कोरला नाका सञ्चालनको पहल भइरहेका समयमा राजदूत माओमिङको मुस्ताङ भ्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार राजदूत माओमिङ तीनदिने भ्रमणका लागि शनिबार लोमान्थाङ पुगेका हुन्। भ्रमणका क्रममा उनले कोरला नाकाको अवस्था, भौतिक संरचना तथा समग्र वस्तुस्थितिबारे जानकारी लिने कार्यक्रम रहेको छ।

यसअघि चिनियाँ दूतावासको पहलमा सरकारी अधिकारीसहितको टोलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाकासम्मको सडकमार्गको स्थलगत अवलोकन गरेको थियो। त्यसपछि कोरला नाकाको अवस्थासमेत अध्ययन गरी कुन नाका सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय गर्ने बताइएको थियो।

राजदूत माओमिङसँगैको टोलीमा पाँच जना चिनियाँ नागरिक र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी रहेका छन्। कोरला नाका हुँदै लोमान्थाङ पुगेको टोली स्थानीय होटल मण्डलामा बसेको छ।

टोली लोमान्थाङबाट जोमसोम जाने कार्यक्रम रहेको छ। जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका समकक्षीबीच कोरला नाका सञ्चालनसम्बन्धी बैठक बस्ने तयारी गरिएको छ।

बैठकपछि राजदूत माओमिङ पुनः लोमान्थाङ फर्किने कार्यक्रम रहेको छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन उनी लोमान्थाङबाट कोरला नाका हुँदै चीन फर्किने कार्यतालिका रहेको बताइएको छ।

यता, गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ। उत्तरी चीनसँग जोडिने तातोपानी नाका पनि बन्द अवस्थामा छ।

नेपालका उत्तरी नाकाहरू अवरुद्ध रहेको अवस्थामा चिनियाँ राजदूतको कोरला नाका हुँदै भएको मुस्ताङ भ्रमणलाई नेपाल–चीन व्यापारिक नाका सञ्चालनका दृष्टिले चासोका साथ हेरिएको छ।