एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ
जलेश्वर - महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएको जेठ १६ गते १५ लाख रुपैयाँ लुटिएको घटनामा साफी संलग्न थिए । चार/पाँचजनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेको थियो । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए ।
साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अरू व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।
चाँडै नै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
फेसबुक पेज Like गर्नुहोस