काठमाडौं - ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न एक जना नाबालकसहित ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराजको शव शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित एक घरमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका सचिन र युवराजबीच पहिलेदेखि नै चिनजान रहेको थियो । ड्युटी सकेर आफ्ना सहकर्मीहरुसँग छुट्टिएका युवराज घरतर्फ जानुअघि खाजा खान तारकेश्वर नगरपालिका ११, स्थित एक खाजा घरमा पुगेका थिए ।

उनी यसअघि पनि उक्त स्थानमा खाजा खान जाने गर्दथे । सचिन परियार र अञ्जली श्रेष्ठ पनि सोही खाजा पसलमा आइपुगे । युवराज र सचिनको पुरानो परिचय रहेको थियो । तीन जना एउटै टेबलमा खाजा खाइसकेपछी सचिनले आफूहरु तत्काल आश्रय लिइरहेको स्थान घटनास्थलसम्म पुर्‍याइदिन आग्रह गरे ।

त्यहाँ युवराज र अञ्जलीबीच सामान्य विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ । त्यसपछि, सचिनले अन्जलीलाई विसन्चो भई माथिसम्म जान केहि असहज महशुस भएको भनेर युवराजसँग सहयोग मागे ।

युवराजले उनीहरुलाई आफ्नो मोटरसाईकलमा राखेर घटनास्थलसम्म पुर्‍याएको खुलेको छ । युवराज त्यहाँ पुग्नुअघि नै बिपना कार्की, नुनमाया कार्की, बुद्द लामा, अमृत तामाङ र एक नाबालकसमेत घटनास्थलमा पुगिसकेका थिए ।

त्यसपछि युवराजमाथि अन्धाधुन्ध रड, ईट्टा, युवराजको युनिफर्मको बेल्ट र ढुङ्गा लगायतको हतियारको प्रयोग गरी आक्रमण गर्दा युवराजको हत्या भएको बयानका क्रममा उनीहरुले स्वीकारेका छन् ।

स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा युवराजको शव फेल परेको थियो। युवराज सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । अनुसन्धानका क्रममा उनीहरु सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेको खुलेको छ ।

उनीहरूलाई अस्टनारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

प्रहरीले आवेसमा आएर उनीहरुले युवराजको हत्या गरेको बताए भने हत्याको मुख्य कारण भने युवराज र अञ्जलीलगायतसँगको लफडा रहेको देखिन्छ । हत्याको मुख्य कारण युवतीसँगको लफडा रहे पनि प्रहरीले त्यसतर्फ गम्भीर रुपमा अनुसन्धान बढाएको छैन ।

पक्राउ परेका उनीहरु लागूऔषध प्रयोगकर्ता रहेको पनि खुलेको छ । उनीहरुले उक्त घरलाई लागूऔषधको अखडा बनाएका थिए ।