काठमाडौं - भारतको मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती आँधी बन्ने सम्भावना देखिएको जनाएको छ। 

विभागका नोभेम्बर १६ को साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो। 

नोभेम्बर १३ बिहान ५:३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिहान ८:३० बजेसम्म यहीँ थियो। तर यो न्यूनचापीय क्षेत्र उत्तरपश्चिमतिर सर्ने सम्भावना छ। यो आज गहिरो डिप्रेसनमा परिणत हुने सम्भावना छ।

त्यसपछि यो नोभेम्बर १६ को साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीमा परिणत हुने अनुमान छ। भारतीय मौसम विभागका अनुसार, मध्य अण्डमान सागर र छेउमा रहेको अण्डमान-निकोबार द्वीप समूहमाथि बनेको वायुमण्डलीय चक्रवातका कारण यो अवस्था सिर्जना भएको हो।

नेपाल मौसम विज्ञान विभागले भने शुक्रबार राति सूचना जारी गरी बंगालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको तर हालसम्मको अध्ययनले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना नदेखिएको बताएको छ। 

तर त्यसको अनुगमन निरन्तर भइरहेको र नयाँ तथ्य फेला परेमा जानकारी गराइने विभागले जनाएको छ। 

शुक्रबार राति जारी सूचनामा भनिएको छ, ‘हालको मौसम विश्लेषण अनुसार बंगालको खाडीमा विकसित हुँदै गरेको नयाँ न्यूनचापीय प्रणालीले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्नेछ।  त्यसैले विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।’