काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरेका छन् ।

उनले आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री पौडेलले पहिलेदेखि नै पार्टी एकताको सन्देश दिन आफूहरुले एकताबद्ध भएर काम गर्दै आएको भन्दै पार्टीलाई विभाजन हुन नदिन मुख्यमन्त्री पद त्याग गरेको जिकिर गरे ।

‘केन्द्रमा दल दर्ता हुन लागि सकेको थियो, उता दल दर्ता हुँदा हाम्रो यहाँको धेरै उता जाने सम्भावना थियो, त्यस्तो हुँदा हामी अल्पमतमा पर्थ्यौ, त्यसैले पार्टीको एकता र एमाले नेतृत्वको सरकार जोगाउन मैले पद छोडेको हो, यसमा मलाई कुनै दुःख छैन, म खुशी छु,’ पौडेलले भने ।

पौडेलले बागमती प्रदेशको केही सांसद बाहेक सबै एमालेमा नै रहने भन्दै जानेलाई बाटो खुल्ला रहेको पनि बताए । उनले राजेन्द्र पाण्डे खुलेर माधव नेपालको पक्षमा लागेको र मकवानपुरकी सांसद मुनु सिग्देलको नाम केन्द्रीय सदस्यमा आएको भन्दै जान चाहनेलाई नरोक्ने समेत टिप्पणी गरे ।

पौडेलले बागमती प्रदेशमा एमालेको एकतासँगै गुटको समेत अन्त्य भएको दाबी गरेका छन्। उनले एमालेबाट निर्वाचित सबै सांसद एकढिक्का भएको भन्दै पार्टीमा कुनैपनि गुट नरहेको दाबी गरे ।