काठमाडौं  - जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुरले बुधबार दिउँसो आयोग पुगेर नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक)दर्ता गराएका छन् ।  

उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् ।  सो पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । 

२४ जनाको कार्यकारिणी समिति बनाइएको छ । सो पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेका छन् । 

अध्यक्ष ठाकुरले पार्टीलाई सशक्त ढंगले अघि बढाइने बताएका छन् । पार्टी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ठाकुरले नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । उनले आफूहरुको पार्टी उपेन्द्र यादवको भन्दा ठूलो रहेको दावीसमेत गरे ।