काठमाडौं, सुनसरी - प्रहरीले सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर– १२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुबै जना कोशी यातायात प्रा.ली. ईटहरीका संचाक समितिका सदस्य रहेको खुल्न आएको छ ।

यही चैत्र १२ गते सुनसरी कोशी– ८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेख बहादुर राई सख्त घाईते भएकोमा उनको विराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.ली. ईटहरीका संचालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादले सिरहा लाहान– ८ घर भई विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए । 

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनिमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसँगै घटनाको यथार्थको पर्दाफास भएको हो ।

यसरी झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाईएपछि यातायात प्रा.ली.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पीडित पक्षलाई क्रियाखर्च क्षतिपूर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।