काठमाडौं- ४ हजार २ सय प्रतिनिधि सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको निर्वाचनमा भोट हाल्नेको संख्या ३ हजार नकट्ने भएको छ ।

विद्युतीय भोटिङ सेवाप्रदायक रामलक्ष्मण इनोभेसनको रेकर्डमा उल्लेख भएअनुसार दिउँसो १२:३० को समयमा २९ सय ५० जनाले मतदान गरेका छन् । अन्तिम लाइनमा ८ देखि १० जना उभिएका छन् । ४२ सय प्रतिनिधिले भाग लिएको महाधिवेशनअन्तर्गत निर्वाचन कार्यमा ढिलाइ हुँदा थुप्रै घर फर्किएका कारण भोट हाल्नेको संख्या घटेको रास्वपाका एक नेता बताउँछन् ।

पहिलो चरणमा थुप्रै उम्मेदवारका नामको क्रमांक बिग्रिएको, चिन्ने नाम उल्लेख नभएको र क्लष्टर फेरेर निर्वाचन समितिले उम्मेदवारी दिएभन्दा फरक क्लष्टरमा पारेको असन्तुष्टि देखिएको छ । त्यस्ता उम्मेदवार पराजित भएमा दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहभागी नहुने सम्भावना रहेको ती नेता बताउँछन् ।