काठमाडौं - भेनेजुएलाको उत्तरी तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विनाशकारी महाभूकम्प गएको छ। भूकम्पका कारण राजधानी काराकासका कैयौँ भवनहरू भत्किएका छन् भने देशकै ठूला रिफाइनरी (तेल प्रशोधन केन्द्र) हरू रहेका क्षेत्रहरूमा समेत तीव्र झट्का महसुस गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार देशका विभिन्न राज्यहरूमा केही सेकेन्डको अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिले ७.२ म्याग्निच्युडको पूर्वकम्प गएको र त्यसको लगत्तै ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली मुख्य भूकम्प गएको हो। यी दुवै भुकम्प ४० सेकेन्डको अवधिमा गएका हुन् । यस महाभूकम्पमा परी ज्यान गुमाउनेहरूको संख्या हजारौँ बढी हुन सक्ने डरलाग्दो प्रारम्भिक अनुमान गरिएको छ।

भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे गएको थियो। उक्त दिन भेनेजुएलामा राष्ट्रिय अवकाश (सार्वजनिक बिदा) रहेका कारण अधिकांश मानिसहरू आ-आफ्नो घरमै थिए। सोही कारण पनि मानवीय क्षति निकै ठूलो भएको हुन सक्ने अनुमान गरिएको छ। भूकम्पको मुख्य केन्द्रविन्दु काराकासको पश्चिममा पर्ने मोन्टाल्बान क्षेत्रमा रहेको थियो।

भेनेजुएलाका गृह मन्त्री डियोसदादो काबेलोले सरकारी टेलिभिजन (VTV) सँग फोनमा कुरा गर्दै देशका धेरै राज्यहरू भूकम्पबाट नराम्ररी प्रभावित भएको बताएका छन्। उनले भने, 'सबै संकेतहरूले यो भूकम्प सात म्याग्निच्युडभन्दा धेरै माथिको रहेको देखाउँछन्। त्रूजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरांडा, काराकास र ला गुआइरामा तीव्र झट्का महसुस गरिएको छ।' गृह मन्त्री काबेलोले सबै नागरिकलाई तत्काल आफ्ना घरहरू खाली गरेर सुरक्षित र खुला स्थानमा आउन अपिलसमेत गरेका छन्। राजधानी काराकासका पालोस ग्रान्देस र अल्तामिरा क्षेत्रहरू भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका छन्।