काठमाडौं - नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट आजबाट चल्तीमा ल्याएको छ । साविककै आकार, प्रकार तथा रङमा थप बिशेषतासहितको नयाँ नोट बजारमा आएको हो ।

कुल २४ करोड थान ५० का नयाँ नोट छापिएकोमा आजबाट ७ करोड थान बजारमा आएको राष्ट्र बैंकले जनाएको छ । नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप छ ।

नोटको तल्लो भागको बोर्डरमा सिरियल नम्बर र नेपालीमा विसं २०७५ लेखिएको राष्ट्र बैंकले जनाएको छ । नोटको पृष्ठभागको बीचमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटमा हिउँचितुवाको चित्र छ ।

नोटको तल्लो भागको बोर्डरमा रुपैयाँ ५० लेखिएको छ । तल्लो भागको बोर्डरमा सिरियल नम्बर र अंग्रेजीमा २०१९ एडी लेखिएको छ । नोटमा हस्ताक्षर भने पूर्व गभर्नर डाक्टर चिरञ्जिवी नेपालको छ ।