काठमाडौं - सत्तारुढ दल नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट बढेको छ।

बागमती प्रदेशपछि आइतबार दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। ओली समूहका मुख्यमन्त्री राई भने अन्य दलसँगको सहकार्यमा बहुमत जुटाउने तयारीमा देखिएका छन् ।

मुख्यमन्त्री राईले शनिबार साँझ मात्रै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए। तिनै आङ्बो प्रस्तावक रहेर मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। दाहाल–नेपाल समूहका एक मन्त्री र दुई राज्यमन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। जसमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वास छन् ।

मन्त्रीको बर्खास्ती, राजीनामा र अविश्वास प्रस्ताव दर्तापछि प्रदेश १ मा कसले बहुमत पुर्‍याउने भन्ने जोडघटाउ सुरु भएको छ। दुवै समूहले भेला र छलफल आइतबारदेखि बाक्लै गर्न थालेका छन् । 

अन्नपूर्ण पोष्ट दैनिकबाट