डा. कोइरालाले पार्टीको पछिल्लो अवस्थाको बारेमा पदाधिकारी र जिल्ला सभापतिसँग गरे छलफल
काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत कार्यकर्तासँग छलफल गरेका छन् ।
बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छफफल भयो ।
त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ रु आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरुमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा समेत उक्त बैठकमा बिस्तृत छलफल भएको छ।
हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरुले जोडदार माग उठाए ।
आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबै नेताहरुको एकमत थियो।
साथै आगामी प्रतिनिधि सभा निर्वाचन तथा पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीलगायत समसामयिक विषयमा पनि छलफल गरिएको छ ।
मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गरिदिएका थिए।
२७ पुसका लागि विशेष महाधिवेशनको घोषणा गरेका उनीहरूले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेका थिए । त्यसपछि काँग्रेसले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको थियो ।
बैठकबाट बहुमतका आधारमा १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित गरेको छ।
जसमा महामन्त्रीद्वय थापा र शर्माले असहमति जनाएका थिए। बैठकपछि पनि महामन्त्रीद्वयले पुसभित्रै विशेष महाधिवेशन गर्ने अडान राखेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस