काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं - कोभिड-१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।
त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को संयुक्त बैठक बस्दैछ ।
‘आज ३ बजे हामी बैठक बस्दै छौं, निषेधाज्ञा थप्नेबारे छलफल हुनेछ, सार्वजनिक यातायात खुलाउने भन्नेबारे स्वास्थ्य मन्त्रालयबाट प्राप्त सुझावमाथि छलफल हुनेछ अनि एउटा निष्कर्षमा पुग्छौं’ भक्तपुर सीडीओ प्रेमप्रसाद भट्टराईले भने ।
जारी निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै छ। भट्टराईका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा पनि विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। २५ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात र लामो दूरीको यातायात खुलाउनेबारे सीडीओहरुले छलफल गर्ने तयारी गरेका छन् ।
यसअघि २५ सिटभन्दा माथिको सार्वजनिक यातायातमा जोर-विजोरसहित अहिले पसलहरुलाई निश्चित समय खुल्न दिएर निषेधाज्ञा खुकुलो तुल्याइएको छ । निषेधाज्ञा लागु भैरहेपनि संक्रमण दरमा उल्लेखनीय गिरावट आएको छैन । संक्रमण दर स्थिर हुँदा यसले निषेधाज्ञा खुकुलो तुल्याउन थप चुनौति सिर्जना गरिरहेको छ ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ बाट सुरु भएकाे निषेधाज्ञा पकट-पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस