नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घट्यो,गभर्नरको कारण जनताको लगानी जोखिममा परेको भन्दै राजीनामा माग
काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको हो । राष्ट्र बैंकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋणको सीमा तोकेपछि त्यसको असर सेयर बजारमा परिरहेको छ । आज ठूला लगानीकर्ताले राष्ट्र बैंकको निर्णय फिर्ता लिन दबाब दिँदै घेराउ समेत गरेका छन् ।
यसैक्रममा शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् । राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरिएको छ ।
यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ । यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने बताएको छ । १६ बुँदे मागको पहिलो नम्बरमा नै संघर्ष समितिले गभर्नरका कारण जनताको लगानी जोखिममा परेको बताएका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले बजारलाई वर्वादीको दिशामा अघि बढाएको बताइन । ४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको भन्दै तत्कालै नीति परिमार्जन गर्नुपर्ने बताइन् । आफ्ना मागहरु सहज तरिकाले सम्बोधन नभए आन्दोलन गर्न आफूहरु बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस