काठमाडौं - सभामुख नभएकाले प्रतिनिधिसभा बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिनयताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बैठक चलाएकी छन् ।

सांसदहरू आफैंले बनाएको नियमावलीविपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्बाहाङ्फेको अध्यक्षतामा संसद्को पाँचौं अधिवेशनको बैठक प्रारम्भ भएको हो ।

प्रतिनिधिसभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगन घोषणा गर्ने व्यवस्था छ । संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले संसदीय अभ्यासमा उपसभामुखले बैठक प्रारम्भ गरेको यो पहिलो पटक भएको बताए । उनी ०४९ देखि ०६४ सम्म संसद्मा कार्यरत थिए ।

‘०४८ सालयताको संसदीय अभ्यासमा मैले सम्झेसम्म संसद् अधिवेशनको प्रारम्भ र अन्त्य सभामुखबाटै हुँदै आएको थियो । संसदीय अभ्यासमा प्रचलनको पनि महत्त्व हुन्छ । त्यो एउटा नजिर पनि हो,’ उनले भने, ‘अहिले सभामुख नभएको र उपसभामुख रहेको फरक स्थिति देखिन्छ । उपसभामुख हुँदाहुँदै ज्येष्ठ सदस्य खोज्ने कुरा पनि भएन ।’ 

कान्तिपुर दैनिकबाट