सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कारवाही गर्न विश्व हिन्दू परिषद्काे माग
काठमाडौं - विश्व हिन्दू परिषद नेपालले कृष्ण दास (सिद्धबाबा)को चरित्र हत्या गर्नेलाई कडा कार्वाही गर्न माग गरेको छ ।
जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले सफाई दिएसँगै विश्व हिन्दू परिषदले मंगलबार एक विज्ञप्ति जारी गरी गलत मनसाय राखी पूज्य सन्तमाथि आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय बताएको हो ।
प्रशासनको लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्तले विभिन्न किसिमको दुःख, कष्टको सामना गर्नु परेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ । हिन्दू आस्था एवं साधुसन्तको मर्यादाको ख्याल नै नगरी, उजुरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले पूज्य सन्त विरुद्ध कारवाही गर्नु शंकाष्पद रहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, परिषद्ले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै अब उपरान्त हिन्दू साधुसन्तहरुको मर्यादा एवं हिन्दू जनमानसको आस्थाको ख्याल गर्दै सत्य तथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष आग्रह गरेको छ ।
एक महिला अनुयायीले २०७६ कात्तिक ४ गते किटानी जाहेरीपछि सिद्धबाबालाई सुनसरी प्रहरीले गत वर्षकै मंसिर १६ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । सोमबार जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियाे ।
फेसबुक पेज Like गर्नुहोस