काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सँच्याए वापत् आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन्

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ,’ प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा बताए। ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ।’

उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ बताए।  अाेलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने र संविधानमा अंकित गरेबापत् सरकारबाट हटाउन लागिएको बताएका छन् ।

‘अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। संविधान संशोधन गरेर नक्सा सँच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ। यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो। हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन। कोशिस् गर्नेलाई गर्न दिउँ।’

प्रधानमन्त्री ओलीले ‘कसैले प्रधानमन्त्री बन्न हतार नगरे पनि हुन्छ र आग्रहहरू नपाले पनि हुन्छ’ भनेर पार्टीभित्रका असन्तुष्ट पक्षलाई जवाफ पनि दिए ।