काठमाडौं - लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज बिहीबार जेठ २५ गते अन्तिम दिन हो ।

बैंकले आज कार्यालय समयसम्ममा आवेदन दिइ सक्नुपर्ने सूचना सार्वजनिक गरेको छ । यस अघि निर्धारित समयमा सबै बिक्री नभएपछि समय थपिएको थियो । बैंकले जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । 

कम्पनिले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्य  ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गरेको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो । 

यसमध्ये पनि सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन पाएका हुन् ।

लुम्बिनीले १० वर्ष अवधिको ११% एलबीबीएल डिबेन्चर २०८९ जारी गरेको हो । यसमा वार्षिक ११% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । 

यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।