कांग्रेसका निवर्तमान कार्यवाहक सभापतिद्वारा पार्टीका पक्षमा मतदान गर्न आह्वान
काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक पूर्णबहादुर खड्काले सबैलाई पार्टीका पक्षमा मतदान गर्न आह्वान गरेका छन्।
खड्काले आइतबार बिहान सामाजिक सञ्जालमार्फत ‘प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रुख चुनाव चिन्हमा मतदान’ गर्न आह्वान गरेका हुन् ।
'फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका सबै मतदान केन्द्रमा जानुभई प्रतिनिधिसभा को प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमूल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनुहुन हृदयदेखि नै हार्दिक विनम्र अनुरोध गर्दछु,' उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चयन गगन थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि चुनावी मैदानमा कतै नदेखिएका खड्काले २०४८, २०५१, २०५६ मा सुर्खेत १ बाट चुनाव जितेका थिए भने २०६४ सालमा समानुपातिक सांसद बनेका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी बनेका खड्का २०७४ मा पराजित भएका थिए । २०७९ को निर्वाचनमा भने उनी विजयी बनेका थिए । उनी यसअघि उम्मेदवार बन्दै आएको सुर्खेत–१ बाट अहिले उनका साहिँला भाइ विष्णु खड्का उम्मेदवार छन् ।
विशेष महाधिवेशन अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गराएका खड्काले माघ ६ गते उम्मेदवार बन्न नैतिकताले नमिल्ने बताएका थिए ।
'यो निर्वाचनमा म उम्मेदवार किन हुँदै छैन, त्यसका कारण मैले गत माघ ६ गतेको दिन बिहान सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रष्ट पारिसकेको छु,' उनले लेखेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस