काठमाडौं - विद्रोही समूह तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई नियन्त्रणमा लिएका तालिबान राजधानी प्रवेश गरेका हुन् । 

बीबीसीका अनुसार आइतबार दिउँसो उनीहरु राजधानीमा प्रवेश गरिरहेका छन् । उनीहरु शहरको सबै क्षेत्रबाट प्रवेश गरिरहेको बताइएको छ । पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै सहर कब्जा गरेका छन्। 

अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन् । 

बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।  यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् । सयौँ नागरिकको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।