काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकरणलाई केही नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्‍याउन नसकिएको बताएका छन् । 

सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै एमाले नयाँ स्वरुपमा पुनःस्थापित भएको पनि उनको भनाई छ । 

‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकीकरण गरेका थियौं । समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’ उनले भनेका छन्, ‘आज नेकपा एमाले उक्त एकीकरणको विरासतलाई अघि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ ।’

यस्तै, प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको पनि उल्लेख गरेका छन् । अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता पनि उनले जनाएका छन् ।