काठमाडौं - कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन।

अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।

अहिलेको कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली देशमा त्यतिबेला इतिहासकै सबैभन्दा बलियो सरकार चलाउँदै थिए। बिपी कोइराला, गिरिजाप्रसाद कोइरालापछि शक्तिशाली सरकारको प्रधानमन्त्री हुने मौका पाएका ओलीले गत वर्ष पनि भाषण गरिरहेका थिए– सरकारले काम गर्न खोज्दा अवरोध भयो। त्योभन्दा पनि बढ्ता दलभित्रै आफू कसरी बलियो हुने र सरकारमा कसरी टिकिरहने भन्नेतिर उनको ध्यान केन्द्रित थियो। यो एक वर्षको सोच र कामको परिणामस्वरूप नयाँ वर्ष सन् २०२१ को पूर्वसन्ध्यामा ओलीले नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित अवस्थामा छ।

अहिलेको अन्योलपूर्ण समयमा यो दललाई ओली समूह र दाहाल–नेपाल समूहका रूपमा चित्रण गरिँदैछ। यसको भविष्यको फैसला बहादुर भवनले गर्ने नै छ। 

  नागरिक दैनिकबाट