काठमाडौं - प्रतिनिधि सभा सचिवालयमा विपद् व्यवस्थापनका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। सत्तारूढ दल नेपाली कांग्रेसका सांसदहरुले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागिजरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।

सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरु देवप्रसाद तिमिल्सिना र प्रकाश रसाईली स्नेहीको समर्थनमा प्रस्ताव सोमबार दर्ता गराइएको हो। प्रस्तावमार्फत उनीहरुले नेपालमा हरेक वर्ष वर्षायाममा बाढी, पहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको भन्दै न्यूनीकरणका लागि समयमै आवश्यक तयारी गर्न माग गरेका छन्। 

त्यस्तै सम्बन्धित निकायका सबै जनशक्ति परिचालित गरी प्राकृतिक प्रकोप हुने स्थानमा तत्कालै अत्यावश्यक राहत दिने, जोखिम क्षेत्र पहिचान गर्न, सम्बन्धित विशेषज्ञले दिएको प्रतिवेदन अनुसार काम गर्नेलगायत विषयमा छलफल हुनुपर्ने माग गरेका छन्। नेपालमा बाढी–पहिरोको जोखिममा रहेका घरपरिवारका लागि वैकल्पिक व्यवस्था, भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भू–भागको डुबान गरेको हुँदा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने, भारतले अन्तर्राष्ट्रिय सन्धिसम्झौता विपरीत बाँध, तटबन्ध र सडकको निर्माण गरेकाले वास्तविकता समस्या पत्ता लगाई स्थायी समाधानका लागि पहल गर्नेलगायत विषयमा छलफल गर्न माग गरिएको छ।