काठमाडौं - बालुवाटारको ललितानिवासको जग्गाजस्तै बौद्धस्थित तारा गाउँ विकास समितिको जग्गा पनि व्यक्तिको नाममा लैजान चलखेल भएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा मुआब्जा नलिएको भनेर राजनीतिक नेतृत्वबाटै व्यक्तिको नाममा जग्गा लैजान प्रयास भएको हो । बौद्धस्थित हायात होटेलसँगैको चार रोपनी तीन आना सरकारी जग्गा हालसम्म व्यक्तिले कब्जा गर्दै आएका छन् ।

०२६ सालमा सरकारले अधिग्रहण गरेको जग्गा हाल तारा गाउँ विकास समितिको नाममा छ । तर, समितिले मातहत ल्याउन सकेको छैन । मुख्य सडकमै जोडिएको सो जग्गाको मूल्य करिब एक अर्ब रुपैयाँ छ । सर्वोच्च अदालतले समेत जग्गा समितिकै नाममा हुने फैसला गर्दा पनि लामो समयदेखि खाली गराउने पहल भएको छैन ।

समितिका अध्यक्ष प्रह्लाद न्यौपाने भने व्यक्तिको नाममा जग्गा लैजान चलखेल भए पनि समितिमातहत नै ल्याइने बताउँछन् । ‘जग्गा खाली गर्न मैले ३५ दिने सूचना दिइसकेको छु,’ उनले भने, ‘त्यस अवधिभित्र खाली भएन भने डोजर चल्छ ।’