अफगानिस्तानको दोस्रो ठूलो शहर पनि तालिवान लडाकूले नियन्त्रणमा लिएको दाबी
काठमाडौं - विद्रोही तालिवान लडाकूले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको छ । उक्त सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ।
सहर नियन्त्रणपछि तालिबान लडाकूले कान्दहारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएका देखिन्छन्। कान्दहार तालिबानको आरम्भ भएको सहर हो र पहिले यो उसको सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो।
अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताएका छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन् ।
बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ । तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।
तालिबानले तेस्रो ठूलो सहर हेरातलाई पनि यसअघिनै कब्जामा लिइसकेको छ। राजधानी काबुलतर्फ तालिबान अघि बढ्दै गर्दा व्यापक चिन्ताहरू व्यक्त भइरहेका छन्।
दिन प्रतिदिन जारी हिंसाबाट यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् । यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् । सयौँ नागरिकको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस