एजेन्सी - वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ ।

विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।
 

विश्व स्वास्थ्य संगठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको खुलासा गरे । उनले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिए । सोही खतराबमोजिमको कार्यक्रम र कारबाहीलाई अघि सार्न उहाँले विश्वका सबै देशलाई आग्रह पनि गरे ।
 

उनले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गरेका थिए । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उनले खुलासा गरेका थिए ।