अख्तियारका सचिवलाई १५ दिन भित्र उपस्थित हुन सर्वोच्चको कडा आदेश
काठमाडौं - सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई कडा चेतावनीसहित १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
नेपाल आयल निगमका महानिर्देशक युवराज शर्माको भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात पटक–पटक तोकता गर्न पनि उपलब्ध नगराएको भन्दै सर्वोच्चले १५ दिनभित्र आफैँ उपस्थित भएर पेश गर्न आदेश दिएको हो ।
सर्वोच्चले यसअघि २०७५ कात्तिक ८ गते र २०७५ फागुन २३ गते शर्माविरुद्ध मुद्दा चलाउने आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । जवाफमा आयोगले ‘फेला नपरेको’ भन्दै पत्र काटेको थियो ।
न्यायाधीश मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले दिएको आदेशमा भनिएको छ, ‘निर्णय कागज फेला नपरेको भनी जवाफ पठाएको देखियो । यसलाई जवाफदेहीतापूर्ण काम कारबाही मान्न मिल्ने देखिएन । सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिलाई उचित ठान्न सकिँदैन ।’
फेसबुक पेज Like गर्नुहोस