तालमेलले गठबन्धनमा तनाव: हेटौंडामा अझै मिलेन भागबण्डा
काठमाडौं,हेटौंडा - स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारको नाम सिफारिस गरेको छ ।
तर, सत्ता गठबन्धनका दलहरूले अझैसम्म पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । भागबन्डा नमिल्दा अहिलेसम्म उम्मेदवार टुंङ्गो नलागेको हो ।
गठबन्धनले हेटौंडा उपमहानगरको मेयर भने नेकपा एकिकृत समाजवादीलाई दिएको छ । तर, कांग्रेसका जिल्ला तथा नगरका अधिकांश पदाधिकारीले हेटौंडाको मेयर पाउनु पर्ने दावीसहित असन्तुष्टि जनाइरहेका छन् । नेकपा एसको भागमा परे पनि मेयरको उम्मेदवार को बन्ने हो अझै टुंङ्गो लागेको छैन । नेकपा एसबाट हालकी उपमेयर मिनाकुमारी लामा र मकवानपुर अध्यक्ष श्रीधर पोखरेलेको मेयरमा चर्चा चल्न थालेको छ ।
यसैगरी, नेकपा एमालेले पनि मेयर तथा उपमेयरमा तीन तीन जनाको नाम सिफारिस गरेको छ । तर, अझैसम्म पनि को उम्मेदवार बन्ने भन्ने निश्चित हुन सकेको छैन ।
गत मंगलबार सम्पन्न गठबन्धनको बैठकले हेटौंडा उमपहानगरको मेयर नेकपा एसलाई दिने निर्णय गरेलगत्तै हेटौंडास्थित कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा केही कार्यकर्ताले तालाबन्दी गरेका थिए । हेटौंडाको मेयर कांग्रेसले नै पाउनुपर्ने पदाधिकारी तथा कार्यकर्ताको माग छ ।
कांग्रेस मकवानपुरले विज्ञप्ति जारी गर्दै मित्रवत प्रतिस्पर्धा गर्ने समेत जनाइसेको थियो । दलहरूको विभिन्न चरणको बैठक बसे पनि उम्मेदवार टुंङ्गो लगाउन भने अझै सकस परिरहेको छ । १२ वैशाखसम्म मनोनयनको लागि समय रहे पनि अझैसम्म उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस