काठमाडौं - बासमती धानको भौगोलिक संकेत हक दाबी-विरोधका लागि नेपालले यूरोपियन यूनियन (इयु)लाई पत्र पठाएको छ ।

भारतले एकल रुपमा बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्नका लागि ईयुमा निवेदन गरेपछि नेपालले आपत्ति जनाउँदै बुधबार साँझ नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटारमार्फत आधिकारीक दाबी विरोध पत्र पठाएको हो ।

परिषद्का वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार इमेलमार्फत् निवेदन दिइएको र ईयुले पनि पाइसकेको प्रतिक्रिया जनाएको छ ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवहरु र सरोकारवाला निकायका पदाधिकारीहरुको बैठकले बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने निष्कर्ष निकाल्दै उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने भएकाले भारतको दाबीमा विरोध गर्ने निर्णय गरेको थियो ।

भारतको दाबीमा पाकिस्तानले समेत विरोध जनाउँदै ईयुमा निवेदन दिइसकेको छ ।