‘कोरोनाविरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोेरोनाविरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन् ।
कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप उपलब्ध नभएसम्म कोरोना महामारीबाट विश्व सुरक्षित हुन नसक्ने उल्लेख गर्दै खोप सबैको सार्वजनिक पहुँचमा हुनु पर्ने बताएका हुन् ।
कोरोनाविरुद्धको खोप निर्माणमा संलग्न कम्पनी र कोरोना खोप विश्व माझ पुर्याउन विशेष भूमिका निर्वाह गरिरहेको कोभाक्सको प्रशंसा गर्दै उनले कोरोनाविरुद्धको खोपहरु अधिकतम नाफाको माध्यम बनाउन नहुने पनि बताएका छन् । गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्ने उनको भनाई छ ।
यस्तै, प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा प्रणाली, मानव जीवन रक्षा र दिगो स्वास्थ्य संरचना निर्माणलाई मुख्य प्राथमिकतामा राखेर नेपालले कोरोनाविरुद्धको लडाई लडिरहेको र यसका नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे पनि महासभालाई जानकारी गराएका छन् । राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीको सम्बोधनको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो ।
फेसबुक पेज Like गर्नुहोस