काठमाडौं - संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए । आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि देखिने भएको हो ।

अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् । एकीकृत समाजवादीलाई ३० संघीय सांसदको साथ छ भने लोसपालाई १४ सांसद ।

संसदमा पहिलो दल एमाले हो भने दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी केन्द्र हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाँचौ हो । राष्ट्रिय जनमोर्चा, राप्रपालागयतको संसदमा उपस्थिति भए पनि ‘थेस्र होल्ड’ पार गर्न नसकेका कारण उनीहरूले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।