काठमाडौं - नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलनरत ‘जेनजि’ पुस्तालाई समर्थन गर्दै खुला पत्र लेखेका छन् ।

आइतबार सार्वजनिक पत्रमार्फत उनले जेनजि पुस्तालाई “सचेत र विवेकपूर्ण” रहन आग्रह गरेका छन् ।

शासकहरूले विधि र विवेकको शासन त दिएनन्, आफ्ना खुसी–दुःख बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,” उनले लेखेका छन्, “तर तपाईंहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ।”

लामिछानेले प्रदर्शनका क्रममा घुसपैठ र उत्तेजना सिर्जना हुने सम्भावनाप्रति चेतावनी दिँदै सावधानी अपनाउन आग्रह गरे।

“आजको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। आफ्नो इतिहास र देशको इतिहास तपाईंकै हातबाट लेखिँदैछ,” उनले भनेका छन्।

नख्खु जेलमै रहँदै उनले जेनजि पुस्ताप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता व्यक्त गरेका छन् । लामिछाने हाल सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नख्खु जेलमा रहेका छन् ।