काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्।  उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्।पार्टी स्थापना कालमा गरिएको रास्वपाको वाचा ‘बेथितिको अन्त्य थितिको थालनी’ ठीक उल्टो भएर ‘थितिको अन्त्य-बेथितिको थालनी’ हुन पुगेको राणाको टिप्पणी छ । 

‘सबै बेथितिका बाबजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु,’ राणाले राजीनामा पत्रमा लेखेका छन्।  उनले आफ्नो आन्तरिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसकिने र अन्ध भक्ति गर्न नचाहेको बताएका छन् । 

राणा पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रति असन्तुष्टी व्यक्त गर्दै उनले लखेका छन्- 'प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो राखियो। अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो’, , ‘१००० सदस्यता शुल्कबाट ३०० पालिकामा आउने भनेको कहिले आएन, प्राइमरीका प्रक्रियामात्र नभई त्यसका लागि भनी उठाइएको ठूलो रकममा पनि आर्थिक अपारदर्शिता र अपचलन देखियो।'