काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा विगतको जस्तो झाँकी, ब्यानर र प्रचार सामग्रीसहितको तामझाम नगर्ने भएको छ।
देश शोकमा रहेको भन्दै कांग्रेसले महाधिवेशनको प्रचारप्रसारलाई सादगीपूर्ण र वातावरणमैत्री बनाउने निर्णय गरेको हो। महाधिवेशन तयारीबारे जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार महाधिवेशनमा उम्मेदवारहरूले शहरका भित्तादेखि सडकसम्म प्रचार सामग्री टाँस्ने, पर्चा बाँड्ने र अनावश्यक तामझाम गर्ने शैली त्याग्नुपर्नेछ।
‘१५औँ महाधिवेशनमा तामझामसहितका प्रचार सामग्री शहरमा टाँसिँदैनन्। सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,’ प्रवक्ता चालिसेले भने।
कांग्रेसले महाधिवेशनका क्रममा डिजिटल बोर्डमार्फत प्रचारप्रसार गर्ने तयारी गरेको छ। उम्मेदवारहरूलाई प्रचारका लागि पर्चा नछाप्नसमेत आग्रह गरिएको छ। प्राकृतिक प्रकोपका कारण दुई दिनपछि सरेको महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ।
प्रतिनिधिहरूले असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्द सत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रियामा सहभागिता जनाउनेछन्। निर्वाचनको विस्तृत कार्यक्रम केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको छ। कांग्रेसको १५औँ महाधिवेशनमा देशभरबाट ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।
महाधिवेशन प्रतिनिधिहरूको आवासका लागि एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ। आवास व्यवस्थापन समितिले प्रत्येक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका प्रतिनिधिहरूको बसोबास व्यवस्थापन तथा समन्वय गर्ने व्यवस्था मिलाएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि भृकुटीमण्डपमा बिहान, दिउँसो र बेलुकाको खाना व्यवस्था गरिनेछ।
महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ। कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ।
यता,संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले आफ्नो महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

.gif)


