काठमाडौं - सरकारको कार्यशैलीविरुद्ध प्रतिनिधि सभाका विपक्षी दलहरूले थप सशक्त भएका अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

आइतबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरूको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा र विपक्षीहरूको आवाजलाई दबाएर, पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाका बारेमा ‘गम्भीर’ छलफल भएको छ ।

प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि विपक्षीबीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागि थिए ।

प्रधानमन्त्री शाहले संसद्को उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

उनीहरुले आजको छलफलबाट पनि जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेका हुन्।