काठमाडौं-नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन सकिएको छ । साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै लोकतन्त्र, नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र पार्टी सङ्गठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देश, लोकतन्त्र र नेपाली कांग्रेसका लागि जीवन समर्पण गर्ने अग्रज नेता तथा पार्टी सदस्यहरूप्रति उच्च सम्मान प्रकट गरेको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा पूर्वमहामन्त्री एवं भेला आयोजक समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न सम्मेलनले पछिल्लो राजनीतिक परिस्थितिप्रति गम्भीर चासो व्यक्त गरेको हो।
सम्मेलनले विद्यार्थी सङ्गठन र ट्रेड युनियनमाथिको नियन्त्रण तथा निषेध, नागरिक स्वतन्त्रता र निजी क्षेत्रमाथि देखिएको प्रहारलगायतका गतिविधिले लोकतन्त्रमाथि चुनौती थपिएको निष्कर्ष निकालेको छ।
यस्तो परिस्थितिमा नेपाली कांग्रेसभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनको विषयलाई लिएर विवाद सिर्जना गरी पार्टीलाई दुई धारमा विभाजित गर्ने अवस्था उत्पन्न भएको सम्मेलनको ठहर छ।
महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको र सर्वोच्च अदालतको डिभिजन बेञ्चबाट फैसला भएको विषयलाई समेत सम्मेलनले समीक्षा गरेको छ।
सम्मेलनले सर्वोच्च अदालतको फैसला तत्काल स्वीकार गरिएको भए पनि आफूहरूले प्रस्तुत गरेका आधार–प्रमाणको पर्याप्त सम्बोधन नभएको तथा फैसला त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै उक्त मुद्दाको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।


.gif)


