काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको संविधानको धारा ७६(४) ऐच्छिक नभइ बाध्यकारी भएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रावलले संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी  भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका हुन् । यस्तै, उनले नागरिकता देशको अस्मिता र अस्तित्वसँग गाँसिएको विषय भएकाले कुर्सीको खेलसँग जोड्न नहुनेसमेत भएका छन् । 

‘नेपालको संविधानको धारा ७६(४)ऐच्छिक होइन बाध्यकारी हो।यसलाई छल्न मिल्दैन।’ उनले भनेका छन्, ‘नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो।यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अुनसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका ओलीले आफुले विश्वासको मत लिन नपाउने अवस्था भएपछि संविधानको धारा ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जान सिफारिस गरेका थिए ।