नेकपामा एमसीसी बहस : हतारमा पारित नगर्न सुझाव
काठमाडौं - सत्तारूढ नेकपामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट 'यथास्थिति' मा पारित गर्न नहुने मत बलियो देखिएको छ।
पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरूले एमसीसी पारित गर्नुअघि यसमा थप प्रस्ट हुनुपर्ने माग गरेका छन्।
उनीहरूले यसका लागि पार्टी नेता र बुद्धिजीवी सम्मिलित विज्ञ समूह बनाई अध्ययन गर्ने र कतिपय बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीका चार सय ३८ केन्द्रीय, पाँच पदेन र तीन आमन्त्रित गरी कुल चार सय ४६ नेतामध्ये सचिवालयका नौ नेताबाहेक अन्य नेताले बिहीबार प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।
१५ समूहमा गरिएको छलफलमा धारणा राखेका अधिकांश नेताले एमसीसी यथास्थितिमा गठन पारित गर्न नहुने मत राखेका छन्। 'एमसीसी अहिलेकै अवस्थामा पारित गर्न सकिन्न। नेता र विज्ञ सहभागी अध्ययन कार्यदल बनाउनुपर्ने र त्यसले दिने सुझावका आधारमा सम्झौताका प्रावधान संशोधन गरी पारित गर्नुपर्ने मत बलियो रूपमा उठेको छ,' नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले भने।
एमसीसी हतारमा पारित गर्दा पार्टीमा झन् विग्रह ल्याउन सक्ने भन्दै केही नेताहरूले मध्यमार्गी उपाय अपनाउनुपर्ने बताएका थिए। केन्द्रीय सदस्य कुमार पौडेलले भने, 'इन्डो प्यासिफिक रणनीतिबारे अध्यक्षद्वयको प्रतिवेदनमा आएको धारणा सकारात्मक भए पनि एमसीसीबारे भने पुनर्विचार गर्नुपर्ने मत नेताहरूको छ।
अन्नपूर्ण पोस्टबाट
फेसबुक पेज Like गर्नुहोस