काठमाडौं - नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ ।

प्रदेशसभा सदस्य वैद्यले प्रदेशसभा बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेले बताएको छ ।

शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने विषय भएको ध्यानाकर्षण गराएका छन् । 

‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले)ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तीमा भनिएको छ । 

बागमती प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएका थिए । 

वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए । गोड्से ती व्यक्ति हुन्, जसले महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए।