काठमाडौं - विभिन्न कार्यक्रमका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ३६ औं जन्मजयन्ती मनाइँदै छ । 

पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । पौडयालले सर्वप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । 

उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईखर दधिराम मरासिनीको स्नेह,सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमाआफूलाई पुर्याएका थिए । पौड्याल आफू पन्ध्र वर्षको हुँदा काठमाडौँको तीनधारा संस्कृत पाठशालामा भर्ना भए । 

त्यसपछि उनी कविता लेखनमा पनि आबद्ध हुन थाले । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँआजीवन भत्ता प्रदान गरेका थिए । पौड्याललाई २०११ पुस २० गतेको मध्य दिनमा रथारोहण गराइएको थियो । पौडयालका डेढ दर्जन जति कृति प्रकाशनमा आएका छन् । उनका कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् ।  २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको निधन भएको थियो ।  पौड्यालको पोखरा महानगरपालिका–२७ अर्घौ अर्चलेस्थित जन्मघर छ ।