काठमाडौं - सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् ।

जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ । सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स्थानीयवासीको हातमा हालसम्म लालपुर्जा नपरेको हो ।

सात हल जग्गा भएकी ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँकी हीराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए–नभएको थाहा नभएको बताए । पञ्चायत कालमा मुखियालाई तिरोस्वरूप मानोपाथी तिरेका स्थानीयले हाल भने तिरो पनि तिरेका छैनन् ।

विसं २०५४ सालअघि नै नापीको टोलीले जग्गा नापजाँच सम्पन्न गरे पनि लालपुर्जा हातमा नपरेको उनले बताए । जिल्ला आएर लालपुर्जा लिन टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मनेलेक काट्नुपर्ने भएपछि स्थानीयको जग्गाधनी पुर्जा लिने रहर पूरा हुन नसकेको हो ।

लालपुर्जा जिल्ला मालपोत गएर बनाउन सकिने जानकारी गाउँपालिकाबाट थाहा पाउनुभएका अर्का स्थानीय टेकबहादुर रोकायाले पुर्जा बनाउन आठदेखि दस दिन लाग्ने भएपछि गाउँका मानिस नगएको बताए । दस दिनको समयसँंगै खर्चको कुराले पुर्जा बनाउन समस्या परेको बताइएको छ ।

स्थानीय बूढापाका भने आफूले लालपुर्जाको मुखै देख्न नपाउने हो कि भनेर चिन्तित देखिएका छन् । गाउँपालिका केन्द्र छप्रेला पुग्न एक दिन लाग्ने मासपुरका बासिन्दाले जग्गा बेचबिखन नहुने भएपछि लालपुर्जाको जरुरी नै नपरेको बताएका छन् । मासपुर गाउँमा १९ घरधुरी छन् ।

जग्गा नापी भई मालपोतमा दर्ता भएर पनि आउजाउ समस्याका कारण गाउँवासीको हातमा लालपुर्जा नपरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुुभयो । अहिले पनि मासपुरवासी लालपुर्जा बनाउन जाने मनस्थितिमा नदेखिएपछि अब गाडी सञ्चालनमा आएपछि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए ।

हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका किसान वञ्चित भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपियाँ कृषिका लागि अनुदान दिए पनि यहाँका स्थानीयले जग्गाको लालपुर्जा नभएकै कारण उक्त सुविधा पाउनबाट वञ्चित भएका हुन् ।

२०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा नलिएको मालपोत कार्यालयले जनाएको छ । ताँजाकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख रवीन्द्र शाहीको भनाइ छ । 

गोरखापत्र दैनिकबाट