काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन संघीय सरकारलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले सुदूरपश्चिममा कोरोना संक्रमणको लोकल ट्रान्समिसन देखिएपछि लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिएका हुन् ।

यस्तै, बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुका साथै भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाइनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय पनि गरेको छ ।

संघीय सरकारद्वारा जारी लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ । यसअघि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले पनि कैलालीमा थप कडाइ गर्ने निर्णय गरेपछि आज बिहानैदेखि कैलालीमा आवागमन ठप्प छ ।

प्रदेशमा शनिबार मात्रै थप तीन जनामा कोरोना संक्रमण देखिएपछि एक जिल्लादेखि अर्को जिल्ला प्रवेशमा पनि रोक लगाइएको छ ।