काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको कारण चुनाव हारिएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्तिबाट दोस्रो शक्तिमा झरेपछि मौन बसेका ओलीले संसदीय दलको बैठकमा भने आफ्नै पार्टीको कारण चुनावमा पराजय व्यहोरेको बताएका हुन्।

‘अरू पार्टीका कारण होइन ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो।’