काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल, विराटनगरको नोबेल र चितवनको चितवन मेडिकल कलेजले लुकाएका सम्पत्ति विवरण आइतबार बरामद गरेको छ । विभागले खटाएको टोलीले तीन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजात बरामद गरेको हो ।

यी कलेजले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको जानकारी स्रोतले दिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई थाहा दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३र३ सदस्य टोली कलेजमा पठाएको थियो ।

कलेजहरूमा छापा मारेर विभागको टोली फर्किएको जानकारी एक प्रमुख जिल्ला अधिकारीले कान्तिपुरसँग दिए । विभागले मुलुकभरका निजी मेडिकल कलेजका सञ्चालक र उच्च तहका कर्मचारीहरुका तीनपुस्ते नातेदारको सम्पत्तिमाथि छानबिन थालेको छ । त्यसका लागि अनुसन्धान अधिकृतहरू तोकेर छानबिन भइरहेको छ ।

छानबिनका क्रममा नोबेल, नेसनल र चितवन मेडिकल कलेजले विवरण लुकाएकाले विशेष टोली पठाएर कागजात जफत गर्नुपरेको जानकारी विभाग स्रोतले दिएको छ । ‘ती कलेजले विवरण लुकाउने सम्भावना उच्च देखियो, माग गर्दा दिएनन्, त्यसैले टोली पठाएर कागजात लिएका हौं, लुकाएका अधिकांश कागजात बरामद भएको खटिएका टोलीहरूले जनाएका छन्,’ स्रोतले भन्यो । 

कान्तिपुर दैनिकबाट