मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटियो
काठमाडौं, विराटनगर - मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटिएको छ। रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान एक जना युवतीको शव भेटिएको हो।
खाल्डोको पानीमा जमेर मृत्यु भएको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुलेको छैन। स्थानीयले शव देखेपछि बिहान ५ः३० बजेतिर प्रहरीलाई खबर गरेका हुन्।
डोरिया स्वास्थ्य चौकीबाट लगभग ५० मिटरजति उत्तरमा शव फेला परेको हो। शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याइएको छ। मृतकको पहिचान नखुलेको र आफन्त कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आफन्तको खोजी गर्दै मृतकको पहिचानको प्रयास भइरहेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस