काठमाडौं - बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै ‘स्वतन्त्र आमा नेपाल’ले माइतीघरमा प्रदर्शन गरेको छ।
संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले बलात्कार तथा हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूले बलात्कारका दोषीलाई कडा सजाय, पीडितलाई न्याय तथा महिलाको सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनकारीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
त्यस्तै, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरी सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ र ‘न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो ?’ लगायतका नारामार्फत उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

.gif)


